कीर्तिपुर, असोज १५ — विद्यार्थीहरूको मानसिक स्वास्थ्य, कल्याण र शैक्षिक सफलतालाई सर्वोपरि प्राथमिकतामा राख्दै मङ्गल बहुमुखी क्याम्पस र "मनको सेवा (Manko Sewa)" बीच एक महत्वपूर्ण समझदारी पत्र (MoU) मा औपचारिक हस्ताक्षर भएको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा आयोजित विशेष मानसिक स्वास्थ्य सचेतना कार्यक्रमको सुअवसर पारेर दुई संस्थाबीच यो सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
स्टुडेन्ट क्वालिटी सर्कल (Student Quality Circle) र रन्जु एकेडेमी (Ranju Academy) को सहकार्यमा सम्पन्न यस कार्यक्रमले क्याम्पसमा मानसिक स्वास्थ्यबारे खुला बहस र सहयोगको वातावरण सिर्जना गरेको छ। समझदारी पत्रमा मङ्गल बहुमुखी क्याम्पसका तर्फबाट प्रदीप महर्जन र 'मनको सेवा' का तर्फबाट मनोविद् तथा संस्थाकी सीईओ सीता भण्डारीले हस्ताक्षर गर्नुभएको छ। यस साझेदारीसँगै अब क्याम्पसका विद्यार्थीहरूले व्यावसायिक मनोसामाजिक परामर्श सेवा सहज रूपमा प्राप्त गर्ने बाटो खुलेको छ।
सम्झौतामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि मनोसामाजिक परामर्श सेवा (Psychosocial Counseling Service) सहज र सुलभ रूपमा उपलब्ध गराउने, शैक्षिक जीवन तथा व्यक्तिगत जीवनमा आइपर्ने मानसिक दबाब, तनाव र अन्य मनोवैज्ञानिक समस्याहरूको समयमै उचित पहिचान र समाधानमा सहयोग गर्ने, विद्यार्थीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न आगामी दिनमा संयुक्त रूपमा विभिन्न तालिम तथा कार्यशालाहरू सञ्चालन गर्ने उल्लेखित छन्। यस सम्झौतासँगै अब क्याम्पसका विद्यार्थीहरूले आवश्यक परेको बेला व्यावसायिक तथा भरपर्दो मनोसामाजिक परामर्श सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
कार्यक्रमका क्रममा मनोचिकित्सक नर्स रन्जु लामा र मनोविद् सीता भण्डारीलगायतका विशेषज्ञहरूले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै मानसिक स्वास्थ्यको महत्व र यसको उचित व्यवस्थापनका तौरतरिकाहारे जानकारी गराउनुभएको थियो। क्याम्पस परिवारले यस ऐतिहासिक सहकार्यले विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकास, मानसिक सुदृढीकरण र तनावमुक्त शैक्षिक वातावरण निर्माणमा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेको छ।
स्टुडेन्ट क्वालिटी सर्कल (Student Quality Circle), मनको सेवा (Manko Sewa), र रन्जु एकेडेमी (Ranju Academy) को संयुक्त सहकार्यमा आयोजित यस कार्यक्रममा क्याम्पसका विभिन्न संकायका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।