मंगल बहुमुखी क्याम्पस, कीर्तिपुरमा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले ‘Instructional Planning and Practices’ (शिक्षण योजना तथा अभ्यास) विषयक एकदिने शिक्षक विकास कार्यशाला सम्पन्न भएको छ। मंसिर ५, २०८३ गते आयोजित उक्त कार्यशालामा क्याम्पसका २० जना प्राध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रम क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चितता समिति (IQAC) को आयोजनामा सम्पन्न भएको हो।
कार्यशालामा भक्तबहादुर शाही र लक्ष्मण के.सी.ले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले शिक्षण योजना (Instructional Planning) को अवधारणा, आवश्यकता, वार्षिक योजना (Annual Planning), एकाइ योजना (Unit Planning) तथा दैनिक पाठ योजना (Lesson Planning) निर्माणका विभिन्न पक्षहरूमा सहजीकरण गर्नुभएको थियो।
कार्यशालामा पाठ्यक्रम तथा पाठ्यवस्तुको विश्लेषण, सिकाइ उद्देश्य निर्धारण, समय व्यवस्थापन, शिक्षण सामग्रीको छनोट, विद्यार्थी सहभागिता अभिवृद्धि, शिक्षण विधिको प्रयोग तथा मूल्याङ्कन प्रक्रियाबारे व्यावहारिक छलफल गरिएको थियो। साथै, टायलर, यिंगर तथा बेलीका पाठ योजना निर्माणसम्बन्धी मोडेलहरूबारे जानकारी दिँदै ५० मिनेटको नमुना पाठ योजना निर्माण र कार्यान्वयनका अभ्यासहरू पनि प्रस्तुत गरिएको थियो। विशेष गरी ABC Model (Anticipation, Building Knowledge and Consolidation) मा आधारित पाठ योजना निर्माण तथा कक्षाकोठामा यसको प्रयोगबारे सहभागीहरूलाई अभ्यास गराइएको थियो।
कार्यशालाबाट शिक्षकहरूले वार्षिक, एकाइ तथा दैनिक पाठ योजनाबीचको सम्बन्ध बुझ्दै आफ्नो विषय र पाठ्यक्रमअनुसार व्यवस्थित शिक्षण योजना निर्माण गर्ने सीप हासिल गरेका छन्। यसले शिक्षण सिकाइ प्रक्रियामा स्पष्टता, समयको सदुपयोग, विद्यार्थीको सक्रिय सहभागिता तथा उपलब्धि मूल्याङ्कनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको समग्र मूल्याङ्कनमा सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। कार्यशालाको औसत मूल्याङ्कन ५ पूर्णाङ्कमा ४.०७ रहेको थियो।
क्याम्पसले यस्ता शिक्षक विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिँदै गुणस्तरीय, योजनाबद्ध, अनुसन्धानमा आधारित तथा विद्यार्थीमैत्री शिक्षण सिकाइ वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।