सामान्य प्रशासन तथा व्यवस्थापन तालिम सम्पन्न

15 October, 2026
#

कीर्तिपुर, काठमाडौं — मङ्गल बहुमुखी क्याम्पस, कीर्तिपुरका कर्मचारीहरूका लागि आयोजित चार दिनव्यापी "सामान्य प्रशासन तथा व्यवस्थापन तालिम" आज असोज २९ गते  सफलताकासाथ सम्पन्न भएको छ। क्याम्पसको प्रशासनिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०८३ आश्वोज २६ देखि २९ गतेसम्म सञ्चालन गरिएको यस तालिममा क्याम्पसका विभिन्न विभाग तथा शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो। साइ ओम जब सपोर्ट एन्ड ट्रेनिङ सेन्टर (SOJSTC) का प्रबन्ध निर्देशक आकर्षण प्रधान सहजकर्ताका रूपमा रहनुभएको यस तालिमले क्याम्पसको प्रशासनिक कार्यदक्षता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।   


तालिमका क्रममा कार्यालय प्रशासनलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो। विशेष गरी कार्यालयको आन्तरिक सहयोग प्रणाली, रसद (Logistics) र नियम-कानुनको पालना, तथा संस्थागत सुधारका लागि म्याकिन्से ७ एस (McKinsey 7S) फ्रेमवर्कबारे छलफल गरिएको थियो। त्यसैगरी व्यवस्थापनका चार प्रमुख कार्यहरू—संगठन (Organizing), कर्मचारी व्यवस्थापन (Staffing), नेतृत्व (Leading), र नियन्त्रण (Controlling) को व्यावहारिक प्रयोगसम्बन्धी प्रशिक्षण गराइनुका साथै दैनिक प्रशासनिक कार्यलाई चुस्त बनाउन अभिलेख व्यवस्थापन (Records Management), प्रभावकारी सञ्चार र टिमवर्कका सीपहरू सिकाइएको थियो।   


तालिमको समापन समारोहमा सहभागीहरूलाई क्याम्पस सञ्चालन समितिका सल्लाहकार प्रा.डा. श्यामकृष्ण महर्जन र सञ्चालन समितिका अध्यक्ष शोभा महर्जन शाक्यले प्रमाणपत्र वितरण गर्नुभएको थियो। सो अवसरमा उहाँहरूले यस तालिमबाट प्राप्त ज्ञान र सीपले क्याम्पसको प्रशासनलाई थप दक्ष, सक्षम र प्रभावकारी बनाउने आशा व्यक्त गर्नुभयो।


कार्यक्रममा आफ्ना अनुभव साट्दै प्रशासन सहायक महेन्द्र महर्जनले तालिमका क्रममा धेरै नयाँ र उपयोगी कुराहरू सिक्न पाएको र यसले दैनिक कार्यसम्पादनमा निकै सहयोग पुर्‍याउने बताउनुभयो। साथै, क्याम्पस प्रमुख प्रदीप महर्जनले कर्मचारीहरूलाई अद्यावधिक, पारदर्शी, दक्ष र सिर्जनशील बनाउन सान्दर्भिक तालिम प्रदान गर्नुभएकोमा सहजकर्ता तथा SOJSTC का प्रबन्ध निर्देशक आकर्षण प्रधानप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

Notice
See All