एटलस.टिआइ (ATLAS.ti) सम्बन्धी तीनदिने कार्यशाला सम्पन्न

8 June, 2026
#

कीर्तिपुरस्थित मंगल बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समिति (Research Management Cell-RMC) को आयोजनामा “Analyzing and Interpreting Qualitative Data Using ATLAS.ti” विषयक तीनदिने शिक्षक क्षमता विकास कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। जेठ १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यशालामा विभिन्न शैक्षिक संस्थाका शिक्षक तथा अनुसन्धानकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन क्याम्पसका संस्थापक अध्यक्ष प्रा. डा. शिव शरण महर्जनले दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गुणात्मक अनुसन्धानको बढ्दो महत्त्व र आधुनिक अनुसन्धान सफ्टवेयरहरूको प्रभावकारी प्रयोगबारे प्रकाश पार्नुभयो। ATLAS.ti जस्ता प्रविधिमैत्री उपकरणहरूले अनुसन्धानलाई व्यवस्थित, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले अनुसन्धान संस्कृतिको विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसै अवसरमा संस्थापक उपाध्यक्ष प्रा. डा. श्याम कृष्ण महर्जनले कार्यशालाको सफलताको शुभकामना व्यक्त गर्दै अनुसन्धानमा प्रविधिको प्रयोगले शिक्षण र अनुसन्धान दुवै क्षेत्रमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहभागीहरूलाई सिकाइलाई व्यवहारमा रूपान्तरण गरी अनुसन्धानको स्तर उकास्न आग्रह गर्नुभयो।

तीन दिनसम्म सञ्चालन भएको कार्यशालामा डा. यदु राम उप्रेती, डा. उमानाथ शर्मा, डा. श्रीप्रसाद घिमिरे तथा डा. टेकमणि कार्कीले सहजीकरण गर्नुभएको थियो। कार्यशालामा विषयवस्तु विश्लेषण (Thematic Analysis), ATLAS.ti को स्थापना तथा प्रयोग, कोडिङ, थिम निर्माण, मेमो लेखन, नेटवर्क विकास, प्रतिवेदन निर्माण तथा अडियो–भिजुअल सामग्रीको विश्लेषणलगायतका विषयहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो।

कार्यशालामा Nepalese Army Institute of Health Sciences (NAIHS), National College, Trinton College, Padma Kanya Multiple Campus, Tribhuvan University अन्तर्गतको Central Department of Education तथा मंगल बहुमुखी क्याम्पसका गरि जम्मा २७ जना शिक्षकहरूको सहभागिता रहेको थियो।

समापन समारोहमा सहभागीहरूको तर्फबाट नीलु थापा (Nepalese Army Institute of Health Sciences), रुबी महर्जन (शहीद स्मारक क्याम्पस) तथा भक्त बहादुर शाही (मंगल बहुमुखी क्याम्पस) ले मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले कार्यशालाबाट गुणात्मक अनुसन्धान तथा ATLAS.ti को प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त भएको बताउँदै आयोजक तथा प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमको समापन समारोहमा प्रा. डा. शिव शरण महर्जन तथा प्रा. डा. श्याम कृष्ण महर्जनले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख प्रदीप महर्जनले धन्यवाद ज्ञापन गर्दै अनुसन्धानमुखी शैक्षिक वातावरण निर्माणका लागि यस्ता क्षमता विकास कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन कार्यशाला संयोजक उपेश महर्जनले गर्नुभएको थियो।

यस कार्यशालाले सहभागीहरूको गुणात्मक अनुसन्धान क्षमता अभिवृद्धि गर्नुका साथै अनुसन्धानमा आधुनिक सफ्टवेयरको प्रयोगलाई प्रोत्साहन गर्दै अनुसन्धानको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।

Notice
See All