कीर्तिपुर, काठमाडौँ
मिति: २०८३ वैशाख १३, आइतबार
कीर्तिपुर: प्राज्ञीक विद्यार्थी परिषद्, नेपालको आयोजनामा कीर्तिपुरस्थित मंगल बहुमुखी क्याम्पसमा एक दिवसीय 'जीवनोपयोगी सीप विकास प्रशिक्षण' कार्यक्रम आज मिति २०८३ वैशाख १३ गते आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा व्यावहारिक ज्ञान र व्यक्तित्व विकास गराउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
बिहान ११:०० बजे सुरु भई साँझ ४:०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि एवं मुख्य प्रशिक्षकको रूपमा रमेश कँडेल रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रदिप महर्जन, सम्पादक लोग बहादुर चयडा, कार्यक्रम संयोजक मोहनराज रावल र कार्यक्रम नियन्त्रक सुसन धामीको विशेष उपस्थिति रहेको थियो।
प्रशिक्षणका क्रममा प्रशिक्षक रमेश कँडेलले विद्यार्थीहरूलाई जीवनमा आइपर्ने समस्याहरूलाई कसरी शान्त र विवेकपूर्ण ढंगले समाधान गर्ने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले कुनै पनि काम गर्नुअघि "रोकिनु, सोच्नु र मात्र काम गर्नु" (Stop, Think, Act) भन्ने सिद्धान्त सिकाउँदै सोचविचार गरेर गरिएको निर्णयले मात्र सफलता दिलाउने बताउनुभयो।
विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नका लागि कार्यक्रममा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो। सहभागी विद्यार्थीहरूलाई पालैपालो मञ्चमा बोलाएर बोल्न लगाउँदै मास फेस गर्ने (Mass Facing) र आत्मविश्वास बढाउने तरिकाहरू सिकाइएको थियो।
यसैगरी, नेतृत्व विकास र करियर परामर्शमा जोड दिँदै प्रशिक्षकहरूले बुद्धको जीवनी र 'ज्ञान मुद्रा' को महत्त्वबारे चर्चा गर्नुभएको थियो। जीवनमा कसरी साहसी हुने र कठिन परिस्थितिमा पनि मनलाई कसरी शान्त राख्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको समापनमा सहभागी विद्यार्थीहरूले यस्ता जीवनोपयोगी तालिमले किताबी ज्ञानका अतिरिक्त व्यावहारिक जीवन जिउन ठुलो मद्दत पुग्ने प्रतिक्रिया दिएका थिए।