काठमाडौं, २०८३ असोज १८ ।
मंगल बहुमुखी क्याम्पसमा “Self Leadership & Emotional Intelligence” विषयक एकदिने नेतृत्व प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थी गुणस्तर वृत्त (Student Quality Circle–SQC) र मंगल मल्टिपल क्याम्पस एलुम्नाइ एसोसिएसनको संयुक्त आयोजनामा हिजो, २०८३ असोज १७ गते शनिबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागीहरूलाई आत्म-जागरूकता, भावनात्मक बुद्धिमत्ता, प्रभावकारी सञ्चार तथा सहानुभूति, टोलीकार्य तथा सहकार्य, व्यक्तिगत विकास, आत्मविश्वास र सकारात्मक परिवर्तन लगायत नेतृत्व विकासका महत्वपूर्ण पक्षहरूमा प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षणका सहजकर्ता रुपेन्द्र महर्जनले नेतृत्व केवल अरूलाई नेतृत्व गर्ने विषय नभई आफूलाई बुझ्ने, आफ्ना भावना व्यवस्थापन गर्ने र सकारात्मक सोच तथा व्यवहारमार्फत प्रभाव सिर्जना गर्ने क्षमतासँग जोडिएको विषय भएको धारणा प्रस्तुत गर्नुभयो। प्रशिक्षणमा सहभागीहरूलाई व्यावहारिक अभ्यास तथा अन्तरक्रियामार्फत नेतृत्व क्षमता विकासका उपायहरूबारे अभिमुखीकरण गरिएको थियो।
“Better Self, Bigger Impact” भन्ने मूल सन्देशसहित आयोजित कार्यक्रमले विद्यार्थी तथा युवाहरूमा आत्मविश्वास, सकारात्मक सोच, भावनात्मक परिपक्वता र सहकार्यको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
मंगल बहुमुखी क्याम्पसले विद्यार्थीको शैक्षिक विकाससँगै नेतृत्व, व्यक्तित्व विकास र जीवनोपयोगी सीप अभिवृद्धि गर्ने उद्देश्यले यस्ता प्रशिक्षण तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको छ।