कीर्तिपुर, असोज १५ — "Exploring Lived Experiences to Real Change" भन्ने मूल नारा र मानसिक स्वास्थ्य नै समग्र स्वास्थ्यको आधार हो भन्ने उद्देश्यका साथ आज मङ्गल बहुमुखी क्याम्पसमा एक विशेष मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको मानसिक कल्याण, शैक्षिक तनाव व्यवस्थापन र आत्मबल वृद्धिलाई ध्यानमा राख्दै यो कार्यक्रम आयोजना गरिएको हो।
स्टुडेन्ट क्वालिटी सर्कल (Student Quality Circle), मनको सेवा (Manko Sewa), र रन्जु एकेडेमी (Ranju Academy) को संयुक्त सहकार्यमा आयोजित यस कार्यक्रममा क्याम्पसका विभिन्न संकायका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका दौरान विद्यार्थीहरूलाई शैक्षिक जीवनका अनुभव, मानसिक स्वास्थ्यमा आइपर्ने चुनौतीहरू, तिनको समाधानका उपायहरू तथा क्याम्पस तहमा मानसिक स्वास्थ्य सेवाको प्रभावकारिता जस्ता विषयहरूमा समूहगत रूपमा अन्वेषण तथा छलफल गराइएको थियो। कार्यक्रममा मनोविद् (Psychologist) तथा मनोचिकित्सक नर्स रन्जु लामा र मनोविद् सीता भण्डारीले सहजीकरण गर्दै विद्यार्थीहरूलाई व्यावहारिक परामर्श र मानसिक स्वास्थ्यको महत्वबारे विस्तृत ज्ञान प्रदान गर्नुभएको थियो। उहाँहरूले विद्यार्थीहरूका जिज्ञासाको सम्बोधन गर्दै तनावमुक्त जीवनशैली र सकारात्मक सोचको विकास गर्ने तरिकाबारे महत्वपूर्ण सुझावहरू दिनुभयो।
सबैभन्दा महत्वपूर्ण उपलब्धिको रूपमा, मङ्गल बहुमुखी क्याम्पस र "मनको सेवा (Manko Sewa)" बीच क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गर्दै मनोसामाजिक परामर्श सेवा (Psychosocial Counseling Service) प्रदान गर्ने सम्बन्धी एक औपचारिक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै अब क्याम्पसका विद्यार्थीहरूले आवश्यक परेको बेला व्यावसायिक तथा भरपर्दो मनोसामाजिक परामर्श सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
कार्यक्रमको अन्तमा क्याम्पसका तर्फबाट सहकार्य गर्ने सम्पूर्ण संस्था, सहजकर्ताहरू तथा उपस्थित विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता सचेतना तथा कल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरिएको थियो।