काठमाडौँ, मङ्सिर २३ गते। मङ्गल बहुमुखी क्याम्पस, मङ्गल माध्यमिक विद्यालय र टोनी हेगन फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार नमुना युवा संसद् कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पस प्रमुख प्रदिप महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रा.डा. लक्ष्मी बहादुर महर्जन, त्रि.विका पूर्वउपकुलपती प्रा.डा.हिराबहादुर महर्जन र मङ्गल मा.वि.का प्राचार्य लोकलाल महर्जन युवा संसदले विद्यार्थीहरुलाई सामाजिक तथा राजनीतिक ज्ञानको अभ्यास गर्न सिकाएको बताउनुभयो।
टोनी हेगन फाउन्डेसका कोषाध्यक्ष वसन्त थापाले टोनी हेगनले नेपाललाई विश्वसामू परिचित गराउने योगदान गरेको बताउनुभयो।
युवालाई संसदीय अभ्यास सिकाएर आफ्ना विचार स्वस्थ ढंगबाट प्रस्तुत गर्न, युवामा प्रजातान्त्रिक आचरणको विकास गराउने तथा प्रतिनिधि सभामा नीति निर्माण गर्ने प्रक्रियाको बारेमा अवगत गराउने उद्देश्यले युवा संसद आयोजना गरेको क्याम्पसका उपप्रमुख रक्की महर्जनले गोरखापत्रलाई जानकारी दिनुभयो।
नमुना युवा संसद्मा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख, शिक्षा मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र सांसद्, मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए।
युवा संसदमा सभामुख अद्धेत ढकालले बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य समयमा सांसदहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथितिलगायतका मुद्दालाई सभामुख मार्फत् सरकारलाई ध्यानाकर्षण गराउनुभयो।
युवा सांसद् सन्तोष दुवाडीले वर्तमान समयमा देशको लागि चुनौतीको रुपमा रहेको मुद्दा “शिक्षा र रोजगारीको नाममा मुलुकको मानव संसाधन र पुँजी विदेशमा पुगेर भयावह स्थितिलाई सम्बोधन गर्न” संकल्प प्रस्ताव प्रस्तुत गर्नुभयो।
प्रस्तुत संकल्प प्रस्तावमा सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र युवा सांसद्ले गहन बहस गर्नुभयो। युवा संसदमा शिक्षमन्त्री डोल्मा स्याङ्तानले उठेका विषय सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो।
मङ्गल बहुमुखी क्याम्पस, मङ्गल मावि, शहीद स्मारक कलेज र जनसेवा माविका सहभागी ४० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा टोनी हेगन फाउन्डेसनका अध्यक्ष प्रा.डा. प्रमोदकुमार झा, सचिव फटिक थापा, सदस्य तेयानाथ भट्टराई र चिरन घिमिरे लगायतको उपस्थित कार्यक्रममा टोनी हेगनले निर्माण गर्नुभएको “उहिलेको नेपाल” वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।
https://gorkhapatraonline.com/news/88515?fbclid=IwAR29GUQa8BUBGq2Ih69u_lzmFyRlgnobbqqiPJXMNKupHqYOU6DN4jigMPw