(काठमाडौँ, असार ३१) २११ औं भानु जयन्ति तथा त्रिभुवन विश्वविद्यालयको ६५ औं वार्षिक दिवसका उपलक्ष्यमा यस क्याम्पसको ECA समिति र Student Quality Circle को संयुक्त आयोजनामा आज यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू बिच अन्तरकक्षा खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भयो। ECA समितिका संयोजक महेन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक भुवन आचार्यले कार्यक्रमको औचित्य बारे प्रष्ट पार्नुभयो। सहभागी विद्यार्थीहरूले आफूले लेखेका कविताहरू वाचन गरेका थिए। तीन सदस्यीय निर्णयक मण्डलद्वारा प्रतियोगीहरूको कविता वाचनलाई मूल्याङ्कन गरिएको थियो। वी.एड. प्रथम वर्षका अनिश चौधरीको शार्दुल विक्रिडित छन्दमा आधारित ‘म र मेरो जीवन’ कविता प्रथम हुन सफल भयो। त्यसै गरी वी.वी.एस. द्वितीय वर्षका नरेन्द्र बुढाको ‘मलाई मानिस बन्न मन छ’ शीर्षकको कविताले द्वितीय स्थान, वी. एड. द्वितीय वर्षका खडक बोहराको ‘मेरो सपना’ शीर्षकको कविताले तृतीय स्थान प्राप्त गर्न सफल भयाे र वी.वी.एस. द्वितीय वर्षका युनिश बस्नेतको ‘सपनाको संसार’ शीर्षकको कविताले सान्त्वना स्थानप्राप्त गर्याे। प्रतियोगीतामा उत्कृष्ट हुन सफल प्रतियोगीहरूलाई कार्यक्रमका संयोजक सिर्जना घिमिरे, शिक्षा विभागका प्रमुख लक्ष्मण के सी, ECA समितिका संयोजक महेन्द्र महर्जन र सहायक क्याम्पस प्रमुख रकि महर्जनले मेडल वितरण गर्नुभयो।
म र मेरो जीवन
(प्रथम भएको कविता )
आउ आउ पाइला चरणको चालेर हेर तिमी,
दोषको रास सुम्पियो ललातलाइ टालेर हेर तिमी।
उन्नत जीवन उन्नति पथ हेर देखिन्न त्यसै त्यहाँ,
मेहनत बिना शोभामय जगत यो देखिन्छ यसै कहाँ।
हर्दम कौशल विचार कपटको दक्षता बेग्लै बन्यो,
संकीर्ण त्यो सोचको खाडलले छुट्टिन मलाई भन्यो।
माया सद्भाव स्नेह सबसंग लाएर बसौँ अब,
धपक्क मन खुसीले पुलकित मुहार चमक तब।
देह त्यागी प्राण सफरमै बिलाई कतै गयो,
आफ्ना र पराई चिन्दछु त्यही बेला जीवन धन्य भयो।
-अनिश चौधरी
टिकापुर कैलाली
हाल कीर्तिपुर काठमाडौँ।
मलाई मानिस बन्न मन छ
(दोश्रो भएको कविता )
मलाई मानिस बन्न मन छ
तर कलियुग को जस्तो होइन,
स्वार्थको पर्खालमा बन्द तर निर्दयी होइन,
जो व्यवहारमा सरलता बोकेर हिँड्छ।
मलाई त्यो मानिस बन्न मन छ,
जो मनमा सरलता बोकेर हिँड्छ,
जो आँसु पुछ्न जान्दछ, दुःख बाँड्न जान्दछ,
जसको नजरमा सधैं सत्यताको उज्यालो छ।
मलाई त्यो मानिस बन्न मन छ,
जो तन्देह, सरल र स्नेहाकुल हुन्छ ,
जसले कोमल मायाको आँचल ओढी,
बुर्जुवा वर्गको विरुद्ध लड्न सक्छ
मलाई त्यो मानिस बन्न मन छ,
जो हृदयमा प्रेम बोकेर हिँड्छ
जो अरुको पीडामा आफ्नो हृदय पगाल्छ,
जो हातेमालो गरी अघि बढ्न जान्दछ।
मलाई त्यो मानिस बन्न मन छ,
जो इमानदारीको बाटोमा हिँड्छ,
जो झूठ र छललाई कहिल्यै अँगाल्दैन,
जो सत्यलाई सधैं साथ दिन्छ।
मलाई यस्तो मानिस बन्न मन छ
जो प्रतिस्पर्धा नै जीवन सङ्ग हो भन्दछ
जो माया र मानवतामा अटल रहन्छ।
जो नैतिकताको आँकुरा मा रम्दछ ।
मलाई त्यो मानिस बन्न मन छ
आकाशमा पंख फिजाइ उड्न सक्ने,
माधुर्य प्रेमको रसमा रम्न सक्ने,
सत्यको बाटो निरन्तर हिड्ने सक्ने….
मलाई त्यो मानिस बन्न मन छ,
जसले आशाको दियो जलाउँछ,
जसले निराशाको अन्धकारलाई पन्छाउँछ,
जो जीवनलाई सधैं नयाँ अर्थ दिन्छ….।